काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका लागि मेची–महाकाली अभियान सुरु हुने भएको छ ।
पूर्व मेचिदेखी पश्चिम महाकालीसम्मको घरदैलो अभियान यही चैत्र १० गतेदेखि सुरु हुने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । रंगशाला निर्माणका लागि सहयोग गर्न चाहनेहरुको घरदैलोमा पुगेर सहयोग संकलन गर्न लागिएको पनि धुर्मुसले बताएका छन् ।
“रंगशालाभित्र निर्माण हुने सातै प्रदेशको बिम्ब झल्कने ७ वटा स्तम्भ र ७७ वटै जिल्लाको कक्ष निर्माण गरिने भएकोले हरेक जिल्लाले आ–आफ्नो जिल्लाको कक्ष निर्माण गर्न सहयोग रकम जुटाउन सकोस् भन्ने अभिप्रायका साथ घरदैलो अभियान संचालन गर्न लागिएको हो,” फाउण्डेशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चैत्र १० गतेदेखि कञ्१चनपुरबाट सुरु हुने अभियानमा प्रत्येक जिल्लामा दुई/दुई दिनसम्म बसेर त्यहाँ रहेका सहयोगी मन, संघसंस्था, बित्तिय संस्थाहरु, सहकारी, महिला तथा आमा समूह, विभिन्न समूहहरु र स्थानीय सरकारसँग हातेमालो तथा सहकार्य गरिने जनाइएको छ ।
घरदैलो अभियानमा फाउण्डेशनका अध्यक्ष धुर्मुससँगै कलाकारहरु कुमार कट्टेल (जिग्रि), अर्जुन घिमिरे (पाँडे), सामाजिक अभियान्ताहरु निगम हुमागाईं, अर्जुन भुसाल र जिल्लास्तरीय सहयोग समितिका संयोजक जयराम सिग्देल रहने भएका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सञ्चालन हुने यो अभियानमा सबैजना जोडिन सकिने र आफूले सहयोग गर्न चाहेको रकम आफ्नै जिल्लाको कक्ष निर्माणमा सहयोग हुने धुर्मुसले बताए । ३० हजार दर्शक क्षमताको रंगशालामा रहेको ३० हजार कुर्सीमा आफ्नै नाम, पितृको, आमा समूह, महिला समूहको नाममा, टोल विकास संस्था, सहकारी संस्था, बैंक तथा वितिय संस्था, उद्योग, विद्यालय, क्याम्पस, लगायत विभिन्न साथी समूहको नाममा सुरक्षित गर्न सकिनेछ । “यो यात्रामा हरेक जिल्लाबाट सहयोगी मनहरुको साथ मिल्ने धुर्मुसको अपेक्षा छ ।
Tags :
Recent News